Listen Live

महिना दिनदेखि फोन सेवा अनियमित : सेवाग्राही मर्कामा

न्यूज डेस्क/ ०९ भाद्र २०७६
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको जहारी क्षेत्रमा महिना दिनदेखि फोन सेवा अनियमित बनेको छ । नगरपालिकाको २ नम्बर वडा मनकोट स्थित नेपाल टेलिकमको टावरले प्रदान गर्ने सेवा अनियमित बनेपछि जहारी क्षेत्रको फोन सेवा अवरुद्ध हुँदै आएको छ । चौरजहारी नगरपालिकाका वडा नम्बर ५ को लहरेसिमल, वडा नम्बर १०, ११ का विभिन्न ठाउँहरुमा मनकोट स्थित टावरले सेवा प्रवाह गर्दै आएको भएता पनि एक महिनादेखि टेलिफोन सेवा अनियमित बनेको सेवाग्राहीले गुनासो गरेका छन् ।  कतिपय समयमा नेटवर्क नै नदिने, सम्पर्क भए पनि दोहारो सञ्चार नहुने, इन्टरनेटका लागि मोबाइल डाटाले काम नगर्ने लगायतका समस्या देखापरेका छन् । लामो समयदेखि फोन सेवा तथा मोबाइल डाटा नचल्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । यसैबिच चौरजहारी नगरपालिकाको वडा नम्बर १ मा रहेको एनसेल नेटवर्कको डाटा पनि अनियमित बनेको छ । एनसेल डाटाबाट इन्टरनेट प्रयोगकर्ताहरु गुणस्तरीय सेवा प्रवाह नहुँदा समस्यामा परेका छन् । नगरपालिकाका वडा नम्बर १४ र १५ मा भने नजिक टलिकमको टावर नहुँदा फोन सेवा उपयोगका लागि त्यस क्षेत्रका सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् । भरपर्दो गुणस्तरीय टेलिफोन सेवाका लागि सर्वसाधारणले पटक पटक माग गर्दै आएका छन् ।  

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP