Listen Live

उच्च मनोबलका साथ काम गर्नुहोस् चौरजहारी नगरपालिका सबै विद्यालय नमूना बन्छन् : नगर प्रमुख शर्मा

उच्च मनोबलका साथ काम गर्नुहोस् चौरजहारी नगरपालिका सबै विद्यालय नमूना बन्छन् : नगर प्रमुख शर्मा

न्यूज डेस्क/ ०९ भाद्र २०७६

चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले शिक्षकहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको छ । व्यक्तिको सर्वाङ्गीन विकासका लागि शिक्षाको महत्वपूर्ण भूमिका रहेको भन्दै असल तथा चरित्रवान नागरिक बनाउन शिक्षक थप जिम्मेवार बन्न आग्रह गर्नुभयो । शीतल माध्यमिक विद्यालय चौरजहारीले सोमबार विद्यालयमा  आयोजना गरेको शिक्षकसँगको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख शर्माले शिक्षाको विकासलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । नगरपालिकाले यस वर्ष झण्डै ५०  प्रतिशत बजेट विद्यालय शिक्षाको व्यवस्थापनका लागि विनियोजन गरेको बताउनु भयो । ‘उच्च मनोबलसहित  प्रभावकारी शिक्षणका साथ नतिजालाई उचाइमा पुर्याउनुहोस्’ उहाँले भन्नुभयो ‘भौतिक पक्षको विकासका लागि स्थानीय सरकार सधैं तपाईंको साथमा छ ।’ 
विकास विरोधी चिन्तन होइन सकरात्मक सोच सहितको हातेमालोले मात्र समृद्ध नगर निमार्णको अभियानले सार्थकता लिने उहाँको भनाइ छ । प्रक्रियामुखी विकासले जनताका समस्या समयमै सम्बोधन गर्न नसक्ने नगर प्रमुख शर्माले बताउनु भयो । विकास जनताको वास्तविक आवश्यकता र सहभागितामा हनुपर्छ उहाँले भन्नुभयो प्रक्रियामै वर्षौ लगाउने प्रक्रियामुखी मात्र होइन । चौरजहारी नगरपालिमा रहेका सबै विद्यालयहरुलाई नै नमूना बनाउने गरी काम अगाडि बढाएको नगर प्रमुख शर्माको भनाइ छ । अगुवा विद्यालयहरुले अभिभावकत्व लिने गरी सबै विद्यालयहरुलाई नमुना बनाउने हो उहाँले भन्नुभयो नगर भित्र एक दुई ओटा मात्र नमूना विद्यालय बनाएर गुणस्तरीय शिक्षा प्राप्त गर्ने नगरवासीको चाहना पूरा हुँदैन । प्रविधि सहितको गुस्तरीय शिक्षा प्रदान गर्ने नमुना विद्यालय बनाउन सकेमा मात्र सबैलाई न्याय हुने तर्क उहाँको छ । कार्यक्रममा विद्यालयका सकारात्मक पक्ष तथा सुधार गर्नुपर्ने पक्ष एवम् आवश्यकताका बारेमा सहभागीहरु बिच छलफल गरिएको थियो ।  

Get Connected

© 2019 Radio Afno FM 90.4 MHz, All Rights Reserved Site by: SoftNEP